१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाँचथरमा एमालेका बसन्त कुमार नेम्वाङ ४७ मतले विजयी

'प्रदेश १ मा एकीकृत समाजवादी, र २ मा माओवादी विजयी'

1.196k
Shares

पाँचथर । पाँचथरमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का केन्द्रिय सदस्य बसन्त कुमार नेम्वाङ विजयी हुनुभएको छ । बिहीबार राति अबेर सकिएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई झिनो मतान्तरले पराजित गर्दै नेम्वाङ निर्वाचित हुनुभएको हो ।

नेम्वाङले आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त गर्नुभएको हो ।

नेम्वाङ यसअघि पाँचथर जिल्लाबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसक्नु भएको छ ।

नेम्वाङ २०७४ सालमा पनि आङदेम्वेलाई हराउँदै प्रतिनिधि सभा सदस्य बन्नु भएको थियो ।

यता प्रदेश सभा १ बाट गठबन्धनका साझा उम्मेदवार सत्ता गठवन्धनकै तर्फवाट नेकपा (एकीकृत समाजवादी) का कमल प्रसाद जवेगू विजयी हुनु भएको छ ।

एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई ६ सय ३३ मत अन्तरले हराँउदै जवेगू प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

जवेगुले १६ हजार ८ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार २ सय ४ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, जिल्लाको प्रदेश सभा २ बाट सत्ता गठवन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र) का इन्द्र बहादुर आङवो मौसम विजयी भइसक्नु भएको छ ।

प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै आङबो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट विजयी हुनु भएको हो । ३४ हजार ४ सय ६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार ६ सय ७२ मत प्राप्त भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाउनु भएको थियो ।