
काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरी शर्मा विजयी हुनुभएको हो ।
शर्माले ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी ढकालले २५ हजार ८९५ मत मात्रै पाउनुभयो । यस्तै, राप्रपाबाट उम्मेदवार बनेकी अभिनेतृ रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमै सीमित हुनुभयो ।
२०७४ सालको निर्वाचनमा ढकालले नै डा. शर्मालाई पराजित गर्नुभएको थियो ।
यस्तै, प्रदेश सभा–३ (१) मा कांग्रेसका मानबहादुर लिम्बु विजयी हुनुभएको छ । उहाँले १९ हजार ७४९ मत ल्याई विजयी हुनुभएको हो । एमाले उम्मेदवार दिलिप राईले १४ हजार ८१७ मत पाउनुभयो ।
यसैगरी, मोरङ–३ (२) मा एमालेका ज्ञानेन्द्र सुवेदी विजयी हुनुभएको छ । उहाँले १७ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमार श्रेष्ठले १५ हजार ३५८ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्