२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ब्राजिल र पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा


442
Shares

काठमाडौं । ब्राजिल र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । सोमबार राति भएका आ–आफ्ना खेलहरु जित्दै ब्राजिल र पोर्चगलले प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान पक्का गरेका हुन् ।

समूह ‘जी’ को खेलमा ब्राजिलले स्विट्जरल्याण्डलाई १–० ले हराएको हो । ब्राजिलको लागि क्यासेमिरोले निर्णायक गोल गरे । यहि समुहको अर्को खेलमा क्यामरुनले सर्बियासँग ३–३ गोलको बराबरी खेल्यो । यो समूहका दुई खेलबाट ६ अंक जोडेको ब्राजिल नक आउट चरणमा उक्लिंदा ३ अंक जोडेको स्विट्जरल्याण्ड दोस्रो स्थानमा रहेको छ । क्यामरुन र सर्वियाको १–१ अंक छ ।

सोमबार राति भएको समुह ‘एच’को खेलमा पोर्चुगलले उरुग्वेलाई २–० ले हरायो । पोर्चुगलका लागि दुवै गोल ब्रुनो फर्नान्डेजले गरे । यहि समुहको अर्को खेलमा घानाले दक्षिण कोरियालाई ३–२ ले पराजित गरेको छ । यो समूहमा पोर्चुगलले २ खेलबाट ६ अंक जोडेको छ । ३ अंक जोडेको घाना दोस्रो स्थानमा रहँदा दक्षिण कोरिया र उरुग्वेको १–१ अंक छ ।

फिफा विश्वकप फुटबलमा आज मंगलबारबाट समूहका तेस्रो तथा अन्तिम चरणका खेलहरु हुँदैछन् । समुह ‘ए’ को खेलमा राति पौने ९ बजे नेदरल्याण्ड्स र कतार तथा ईक्वेडर र सेनेगल भिड्नेछन् । यसैगरी राति पौने १ बजे सुरु हुने समुह ‘बी’ का खेलहरुमा वेल्सले इंग्ल्याण्डसँग खेल्दा इरानले अमेरिकाको सामना गर्नेछ ।