१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नदी किनारका संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको अल्टिमेटम


6.188k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका नदी किनारको अतिक्रमण हटाउने अभियानमा लागेको बेला काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको प्राधिकरणले आज बुधबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डमा पर्ने जग्गा अतिक्रमण गरी बनाइएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनेको हो ।

प्राधिकरणले निर्देशन कार्यान्वयन नगरे अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने पनि जनाएको छ ।

उपत्यकाभित्रका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण स्थापना भएको उल्लेख गर्दै सूचनामा आफ्नो काममा अवरोध भए प्राधिकरण ऐन, २०४५ को दफा ८ बमोजिम अगाडि बढ्ने चेतावनी पनि दिइएको छ ।