२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनका किसानले सुन्तला खेती मासेर अन्य खेती गर्न थाले


286
Shares

काठमाडौं । चितवनको तामिनका सुन्तला किसानहरुले सुन्तला मासेर अन्य खेती गर्न थालेका छन् । सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा रहेको इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लाखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । तर अहिले रोगका कारण सुन्तलाका बोट मरेर सखाप भए पछि किसानहरु सुन्तला खेती मासेर अन्य खेती गर्न थालेका हुन ।

तामिन क्षेत्रभित्र ८० बिघा क्षेत्रफलमा लगाइएको सुन्तलाका बोट मर्दै गएर १० बिघामा मात्रै बाँकी छ । तामिन कृषि सहकारीका अध्यक्ष हरिबहादुर नेपालले ७० प्रतिशत सुन्तलाका बोट मरेर सखाप भएको बताउनुभयो ।

एउटै याममा १२ लाख रुपैयाको सुन्तला बिक्री गरेका उहाँले अहिले आफ्नो बारीमा एउटा पनि बोट नरहेको बताउनुभयो ।

सुन्तलाको बोटमा टुप्पा सुक्ने र फेद कुहिने समस्या छ । एक हजार मिटरभन्दा तलको जमिनमा रहेका सुन्तलाको बोटमा यस्तो समस्या देखिएको छ । सुन्तला किसानले रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्न थालेका छन् । मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर बेच्न थालेको स्थानीय विश्वप्रकाश नेपालले बताउनुभयो ।

व्यावसायिक सुन्तला खेती गरेका किसानले धमाधम तरकारी लगाउन थालेका छन् ।