
काठमाडौं । सुन्तला गाउँका नामले परिचित बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ ४५ हजार रुपैयाँमा बिक्री गरेका छन् । सुन्तला व्यापारीले बोटबाटै टिपेर सुन्तला लैजाने गरी सिगानाका अधिकांश सुन्तला किसानले सम्झौता गर्ने गरेका छन् ।
सुन्तला किसान टोपबहादुर केसीले पनि आफ्नो सुन्तला बगान दुई लाख रुपैयाँमा व्यापारीलाई बिक्री गर्ने सम्झौता गरिसकेका छन् । गतवर्ष तीन लाख रुपैयाँको सुन्तला बिक्री गरेकामा यसवर्ष चार लाखको सुन्तला बिक्री गर्ने लक्ष्य राखेका छन् । यहाँका किसानले बोटबाटै सुन्तला बिक्री गर्ने गरेको र थोरैले मात्रै आफैं टिपेर बिक्री गर्ने गरेका छन् । सुन्तला विद्युतीय शीत भण्डारण गृहमा राखेर मूल्य राम्रो पाएपछि बिक्री गर्ने गरेको किसानहरुको भनाई छ ।
सिगानाका सुन्तला पोखरामा बढी माग हुने गरेकाले व्यापारीहरुले सिधैं आएर बोटबाटै सुन्तला खरिद गरेर लैजाने गरेका छन् । बोटबाटै सुन्तला बिक्री गर्दा प्रतिकिलो ४० देखि ४५ रुपैयाँ पर्ने गरेको छ ।
सिगानाका किसानले सुन्तला बिक्रिबाटै वार्षिक रुपमा दुईदेखि तीन करोड रुपैयाँ भिर्त्र्याउँदै आएका छन् ।
सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्