८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीमा व्यवसायिक आलु खेती सञ्चालन


104
Shares

सिन्धुली । सिन्धुलीका कमलाखोंच र सुनकोशी क्षेत्रका किसानहरूले व्यवसायिक आलुको खेती सुरू गरेका छन् ।

धान बाली भित्र्याएसँगै सुरू गरिएको आलु खेतीलाई हिउँदमा पर्ने शित लहरीबाट जोगाउन आलु बालीमा शित प्रतिरोधात्मक औषधि ईण्डोफिल ४५ र सेभिन छिट्न समेत किसानहरूले तयारी अवस्थामा राखेका हुन् । आलु तरकारीमा बढी खपत हुने र सबै खाले तरकारीसँग समेत मिसाएर पकाउन सकिने भएकाले लोकप्रिय तरकारीकाे रूपमा लिइन्छ ।

तरकारी, अचारमा अधिकतम रूपमा प्रयोग हुने आलु सबैको मानिसहरूकाे भान्सामा पाइन्छ । अन्य तरकारीहरुको तुलनामा आलुमा कार्बाेहाईड्रेड बढी हुने भएकाले यसलाई उसिनेर भातको सट्टामा समेत खान सकिन्छ । तर डाईविटिज रोग हुनेहरूले भने आलु कम खानु पर्ने हुन्छ । आलु सिन्धुलीमा अधिकतम रूपमा खेती गरिन्छ ।

सिन्धुलीको महाभारत पर्वत श्रृंखलामा वर्षायाममा आलु खेती गरिन्छ भने सुनकोशी र कमलाखोंच जस्ता भित्री तराईका क्षेत्रहरूमा हिउँदमा आलुको खेती गरिन्छ । गत कार्तिक महिनामा लगाईएको हिउँदे आलु माघ महिनामा खन्ने प्रचलन रहेको छ ।यस वर्ष सिन्धुली २५ हजार मेट्रिक टन आलु उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस वर्ष आलुको बिक्री वितरणबाट करिब २६ करोड बराबरको आम्दानी हुने अनुमान गरिएको छ ।

सिन्धुलीमा उत्पादन भएको आलु सिन्धुलीमाडी बजारका साथै छिमेकी जिल्लाहरूका उपभोक्ताहरूका लागि बिक्री–वितरण हुने गर्दछ । स्थानीय रूपमा गरिएको आलुको खेतीले जिल्लाका उपभोक्ताहरूलाई सुविधा समेत पुगेकाे छ । साथै किसानहरूको आर्थिक स्तर समेत विकसित भएको छ ।

यसवर्ष सिन्धुलीका विभिन्न स्थानमा २९ हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित रूपमा आलु खेती गरिएको छ ।