
काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ ।
महानिरीक्षक सिंह र राजदूत थम्पसनबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो ।
अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै महानिरीक्षक सिंहले आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा अमेरिकी राजदूत थम्पसनले हालै नेपालमा सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गर्नुभयो ।
नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत थम्पसनले यसका लागि नेपाल प्रहरीलाई धन्यवाद दिनुभयो ।
भेटमा प्रहरी महानिरीक्षक सिंह र राजदूत थम्पसनबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्