
काठमाडाैं । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्माले सरकारको नेतृत्व आलोपालाे गर्ने सहमति भएको बताउनुभएकाे छ ।
तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउनुपर्ने उहाँले बताउनुभएको हाे । आज शुक्रबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्रीमा दावी रहनु स्वाभाविक भएको पनि बताउनुभएको हो । उहाँले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निणर्य पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टिका टिप्पणी हुन आवश्यक नरहेको बताउनुभयो ।
उहाँले माओवादी पनि गठबन्धनको दोस्रो ठूलो दल भएको बताउँदै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीको टुंगो लाग्ने बताउनुभयो । उहाँले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रह समेत गर्नुभयो ।
नेतृ शर्माले पार्टीले मन्त्री पद दिए आफू जिम्मेवारी पूरा गर्न सक्षम रहेको बताउनुभयो । नेतृ शर्माले लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भएपनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको बताउनुभयो । उहाँले पोखरेलले राजधानी आफू र नेकपा एमालेले लगेको श्रेय लिनु गलत भएको दावी गर्नुभयो ।
नेतृ शर्माले राजनीतिक दलहरूले युवाहरूलाई पनि सम्मानजनक रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । युवाहरूको जबरजस्ती हस्तक्षेप भन्दा पनि नयाँ भिजन र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्