
काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपालमा टेलपाइप उत्सर्जन नगर्ने तीन पाङ्ग्रे सवारी साधन ल्याउन विश्वको सबैभन्दा ठूलो मध्ये एक तीनपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग सहकार्य गर्ने भएको छ ।
नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम ल्याउन विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्न लागेको हो । ओएसएम रेजप्लस विद्युतीय तीनपाङ्ग्रे कार्गो सवारी साधन हो,जसमा १०.८ किलोवाट ब्याट्री जडान गरिएको हुन्छ । त्यस्तै ओएसएम स्ट्रिम ८.५ किलोवाट पावरप्याक भएको विद्युतीय तीनपाङ्ग्रे यात्रुवाहक सवारी साधन हो । दुवै गाडीलाई सामथ्र्य प्रदान गर्ने सबै विद्युतीय मोटरले अधिकतम ७.४ किलोवाटको पावर र मोटरमा ४५ एनएम पीक टर्क उत्पादन गर्छ । रेजप्लस र स्ट्रिम दिगो ऊर्जामा चल्ने सवारीसाधनमा आकर्षित हुँदै गरेका उद्यमीहरू र साना व्यवसाय गर्ने अपरेटरहरूका लागि उत्तम समाधान भएको कम्पनीले जनाएको छ ।
एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले नेपाली बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारी साधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा गर्ने दाबी गर्नुभयो ।
यस्तै ओमेगा सेकी मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले नेपाल सरकार सवारी साधनले सिर्जना गर्ने वायुप्रदुषण न्यूनीकरणका लागि यस क्षेत्रमा सन् २०३१ सम्म पूर्ण विद्युतीकरणको लक्ष्य लिएर सक्रिय भएको अवस्थामा यी विद्युतीय सवारी साधनले निकै ठूलो सहयोग गर्ने बताउनुभयो । ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै ४ घण्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिनेछ । पूर्ण चार्जले तीनपाङ्ग्रे मालवाहक (रेजप्लस) १२० किलोमिटर र तीनपाङ्ग्रे यात्रुवाहक सवारी (स्ट्रिम) ९५ किलोमिटरको यात्रा गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्