१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आफ्नो स्वामित्वकाे सम्पति निर्विवाद उपभोग गर्न पाउन वातावरण बनाइ दिन स्काउटको आग्रह


78
Shares

काठमाडौं । नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पतिको निर्विवाद उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

स्काउटले पत्रकार सम्मेलन गरी आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको हो ।

आफ्नो नाममा रहेको लैनचौरको ३ रोपनी जग्गा स्काउटले २०६५ सालमा खड्काल्याण्ड डेभलपमेन्ट प्रालिसँग १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराएपनि समयावधी पूरा हुँदा पनि खाली नगराएको जनाएको छ ।

स्काउटले उच्च अदालत पाटनमा मुद्दा हालेपछि खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले भोगचलन गर्दै आएको ३ रोपनी जग्गा र जबरजस्ती कब्जा गरेको करिब ७ रोपनी पार्किङ क्षेत्रमा खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.को कुनै हक दाबी नहुने फैसला आएको भएपनि हालसम्म सो जग्गा स्काउटको नियन्त्रणमा नआएको जनाइएको छ ।

स्काउटले भाडाबापत पाउनुपर्ने १ करोड ९५ लाख १९ हजार १ सय ६६ रुपैयाँ पनि लिन बाँकी रहेको जनाएको छ । नेपाल स्काउट केन्द्रिय कार्यालयको सुरक्षाका लागि बन्द गरिएको गेट प्रहरी प्रशासनको बलमा जबरजस्ती खोलेर तोडफोड भएको नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले बताएका छन् ।

खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.ले प्रहरी प्रशासनको समेत दुरुपयोग गर्दै नेपाल स्काउट माथि पटक–पटक आक्रमण गरिरहेको स्काउटको आरोप छ ।