
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरुलाई समय दिएको छ ।
आयोगले समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि आज सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।
प्रतिनिधि सभा अन्तर्गत दलहरुले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा त्रुटि नरहेको बताएको छ । तर, प्रदेश सभामा पेश गरेको नाममा भने केही त्रुटि देखिएको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले प्रदेशतर्फ नाम सिफारिस गर्दा त्रुटी भेटिएको हो ।
आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभए पनि केही राजनीतिक दलहरुले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटी देखिएको बताउनुभयो ।
विशेष गरी प्रदेश नम्बर १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दलहरूले बुझाएका सूचीमा त्रुटि देखिएका छन् । क्लस्टरअनुसार सूची नबुझाएको पाइएको छ ।
वाग्लेका अनुसार दलहरूले त्रुटि सच्याएर पठाएपछि सांसदहरू निर्वाचित भएको घोषणा गरिनेछ र प्रमाण पत्र दिइनेछ ।
सम्भवत सोमबार नै प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ निर्वाचित भएको घोषणा गरिने उनले बताएका छन् ।
यसैबीच, निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता निष्क्रिय पारेको छ । आयोगले प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको लागि गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता सोमबारबाट खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्