
काठमाडाैं । नेपालमा सडक सुरक्षाको माग पनि बढ्दै गएको भन्दै विज्ञहरुले सडक सुरक्षाको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् ।
सरकारले सडक सुरक्षाको लागि पर्याप्त मात्रामा श्रोत, साधनको परिचनालन गर्न नसकेकाले सडक दुर्घटनाहरु बढ्दै गएको विज्ञहरुले गुनासो गरेका हुन् । उनीहरुले विदेशी राष्ट्रहरुले सडक दुर्घटना कम गर्दै शून्य दुर्घटनाको योजनामा अघि बढ्न थालेपनि नेपालमा भने हालसम्म पनि सडक सुरक्षाको लागि आवश्यक श्रोत र साधन नै परिचालन गर्न नसकिएको बताएका हुन् । नेपालले दुर्घटना न्युनिकरणको प्रयास र सडक सुरक्षालाई मुख्य प्राथमिकता दिन आग्रह गरेका छन् । सडक सुरक्षा सम्बन्धी विज्ञ डा.पुष्पराज पन्तले संचारकर्मीसँग कुरा गर्दै नेपालले सडक सुरक्षालाई गम्भीरताका साथ दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालमा दैनिक रुपमा सडक दुर्घटनाका घटनाहरु बढ्दै गएपनि सडक निर्माण बाहेकका सडक सुरक्षाका लागि आवश्यक व्यवस्थापन हुन नसकेको बताउनुभयो । उहाँले सडक सुरक्षा संकेत तथा तालिम दिनका लागि सरकारले सडक सुरक्षामा प्राप्त बजेट नछुट्याउने लगायतका कमजोरीहरु गरिरहेको बताउनुभयो । उहाँले साधन र श्रोतहरुको परिचालन हुन नसक्नु, आम नागरिक, नागरिक समाज र राजनीतिक दलहरुले समेत सडक सुरक्षाको आवश्यक्ता महशुस गर्न नसकेको बताउनुभयो ।
उहाँले नेपालको जनसंख्या युवाहरुको बढी भएकाले सडक दुर्घटनामा पनि युवाहरुको मृत्यु बढी हुने गरेको बताउनु भयो । उहाँले नेपाल सडक सुरक्षाको हिसावले मध्यम स्थानमा पर्ने बताउनुभयो । उहाँले नेपालमा प्रति एक लाख मानिसमा १६ जना सम्मको सडक दुर्घटनामा परी निधन हुने गरेको बताउनुभयो ।
उहाँले नयाँ सडकहरु सुरक्षित बनाउनेदेखि भएका सडक संरचनाहरुलाई सुरक्षित गर्ने र सडक दुर्घटना पीडितका मुद्दालाई समेत राम्रोसँग समावेश गरेर नीति र निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले केही राजनीतिक दलहरुले निर्वाचनताका सडक सुरक्षा सम्बन्धी मुद्दाहरुलाई समेटेको भएपनि पूर्ण रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सडक सुरक्षा विषयमा छुट्टै ऐन बनाउनुपर्ने बताउनुभयो ।
उहाँले सरकारको नेतृत्व गर्नेहरुले नै सडक सुरक्षाको मुद्दामा अग्रसरता देखाउनुपर्ने बताउनुभयो । उहाँले नयाँ बन्न लागेको सडक सुरक्षा ऐनमा सडक यात्रुहरुको सुरक्षाको विषयमा आवाज उठाइनुपर्ने बताउनुभयो । उपभोक्ता ऐनले नै सडक सुरक्षामा समेत काम गर्ने अवस्था भएपनि कार्यान्वयनमा भने चुनौती रहेको उहाँले बताउनुभयो ।
उहाँले सडक सुरक्षा सम्बन्धी ऐन संसदमा अल्झिएर बसेको भन्दै चाँडो भन्दा चाँडो ऐन पास गर्नुपर्ने बताउनुभयो । उहाँले सडक सुरक्षा परिषद्ले सडक सुरक्षा सम्बन्धी कामहरु गर्न नसकेको भन्दै परिषदमा आवश्यक कर्मचारी खटाएर सडक सुरक्षामा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा सडक डिजाइनको पनि समस्या रहेको बताउनुभयो । उहाँले शाखा सडकबाट मुल सडकमा जाँदा पनि समस्या हुने गरेको बताउनुभयो ।
उहाँले सडकमा कुन लेनको काम के हो भन्ने कुरामा पनि दोधार रहेको बताउनुभयो । उहाँले मिक्स ट्राफिकका कारण पनि कतिपय समस्या हुने गरेको उल्लेख गर्नुभयो । उहाँले सडक साँघुरो भएकै कारण सडक दुर्घटना बढी हुने गरेको नभइ सडकलाई व्यवस्थित गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले नेपालका सडकहरुमा पूर्वाधारको समस्या र जनचेतनाको कमी रहेको अध्ययनले देखाएको बताउनुभयो । उहाँले दुर्घटनालाई कम गर्न सरकारले पूर्वाधार र जनचेताना बिस्तारको क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताउनुभयो । उहाँले सडक संकेत, सडक व्यवस्थापनलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नेपालमा धेरै दुर्घटना चालकको गल्तीले भन्ने गरेको भएपनि सडकमा संकेतहरु कति राखेको छ भन्नेकुरा महत्वपूर्ण रहेको बताउनुभयो ।
सडक बनाउने नाममा कमजोर बनाउनु भन्दा भरसक दुर्घटना नै नहोस् भन्ने हिसावले सडकको निर्माण गर्न जरुरी रहेको उहाँले बताउनुभयो । हरेक सडकका निश्चित गन्तव्यमा दुर्घटना भइहाले उपचारका लागि १ घण्टा भित्रमा अस्पताल पुर्याउनसक्ने गरी अस्पतालको निर्माण हुनुपर्ने बताउनुभयो । उच्च प्रविधिको स्वास्थ्य सेवा जडित एम्बुलेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले सरकारले सडक सुरक्षाको नीति, निर्माण र कानून बनाउँदा विज्ञहरुको सल्लाह, सुझाव, उपलब्ध तथ्यांक र तथ्यपरक इन्टरभेन्सनका कार्यक्रमहरुलाई ध्यान राख्न सुझाव दिनुभयो । उहाँले सरकारले सडक सुरक्षामा जनशक्ति विकासदेखि आर्थिक र प्राविधिक श्रोतहरुको व्यवस्थापन गर्नसके सडक सुरक्षामा नेपालले सकारात्मक परिणाम हासिल गर्ने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्