२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


बेलायतबाट ६ चिनियाँ कूटनीतिज्ञ फिर्ता


52
Shares

काठमाडौं । चीनले बेलायतस्थित नियोगमा कार्यरत ६ जना आफ्ना कूटनीतिज्ञलाई फिर्ता गरेको छ । त्यसरी हटाइएकाहरुमा म्यान्चेस्टरस्थित नियोगका महावाणिज्य दूत चङ सियुआन पनि रहेका छन् ।

गत अक्टोबरमा म्यान्चेस्टरस्थित चिनियाँ कन्सुलेट अगाडि हङकङमा प्रजातन्त्र पुनर्वहाली माग गर्दै भएको प्रदर्शनमा सहभागी एक व्यक्तिलाई नियन्त्रणमा लिएर कूटपिट गरेको आरोपमा बेलायत सरकारले चिनियाँ कूटनीतिज्ञहरुको कूटनीतिक सुविधा खोस्न र प्रहरीलाई उनीहरुमाथि छानबिनको अनुमति दिन चीनसँग आग्रह गर्दै आएको थियो ।

तर, चीनले भने उनीहरुलाई बेलायत नियोगबाट फिर्ता गर्ने निर्णय मात्रै गरेको हो ।

बेलायती विदेशमन्त्री जेम्स क्लेभरलीले उनीहरुले बुधबार बेलायत छाडेकाले उनीहरुमाथि न्यायिक अनुसन्धान नहुने भन्दै निराशा ब्यक्त गर्नुभएको छ ।

अक्टोबर १६ मा भएको प्रदर्शनमा हङकङका नागरिक बब छानलाई घिसारेर महावाणिज्य दूतावासभित्र लगेर कूटपिट गरिएको थियो ।

लण्डनस्थित चिनियाँ दूतावासका प्रवक्ताले बेलायतले आफ्ना कूटनीतिज्ञहरुको सुरक्षा गर्न नसक्दा उनीहरुलाई फिर्ता पठाउनु परेको प्रतिक्रिया दिएका छन् ।

बेलायतले महावाणिज्यदूत चङसहित अन्य पाँच जना चिनियाँ कूटनीतिकज्ञहरुलाई पर्सोना ननग्राटाको सूचिमा राख्ने भएको छ ।