
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिककाे नजिकको सरकार भएकाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताउनुभएको छ ।
ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंशा समेत गर्नुभयो ।
प्रधानमन्त्री देउवाले नागरिकलाई खुशी बनाउने गरी साेही महानगरपालिकाको सम्पदाहरुको संरक्षण र सम्वर्द्धनको काम भईरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढन थप क्रियाशील हुन आग्रह गर्नुभयो । भौतिक पूर्वाधारहरुको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
महानगरपालिकाले १०४ औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्न सुरु गरेको छ । साेही कार्यक्रममा प्रधानमन्त्री देउवाले वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्य, वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ, प्राज्ञ कालु कुमाले र ललितपुर महानगरपालिकाका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यलाई सोही पुरस्कारबाट सम्मान गर्नुभएको हो ।
महानगरभित्रको कला, साहित्य र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको व्यक्तिलाई जनही १ लाख नगदसहित पुरस्कारबाट सम्मान गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनुभयो । प्रधानमन्त्री देउवाले महानगरभित्र उत्कृष्ट करदाताको सम्मान संस्थागत रुपमा जेम्स स्कुल र व्यक्तिगत रुपमा टाँसी तेन्जिङलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्