२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जिफन्टको सरकारलाई दवावः विदेशमा रहेका श्रमिकहरुको समस्या तत्काल समाधान गर


26
Shares

काठमाडाैं । नेकपा (एमाले)मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिएको छ ।

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दवाव दिनु भएको हो ।

उहाँले मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स पठाउनेहरुको समस्याबारे भने सरकार गम्भिर नभएकोप्रति आक्रोश समेत व्यक्त गर्नु भयो । अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारीमा जानका लागि आफ्नो दक्षता वृद्धि गर्न श्रमिकहरुलाई पनि आग्रह गर्नु भयो ।

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले देशभित्रै रोजगारीको अवसर सृजना गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

अध्यक्ष श्रेष्ठले भन्नु भयो, ‘मुलुक रेमिट्यान्सको भरमा चलेको छ । तर वैदेशिक रोजगारीमा गएकाहरुको समस्या भने अझै पनि सरकारले समाधान गर्न सकेको छैन । त्यस काममा सरकार गम्भिर भएर उनीहरुको समस्या तत्काल समाधान गर्नु पर्दछ ।’

जिफन्टले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा ऐनमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको पनि हित प्रवर्द्धन हुनेपर्ने बताउनु भयो ।