
काठमाडौं । कतारमा जारी विश्वकपको यो संस्करणको उपाधिका लागि आज आइतबार राति अर्जेन्टिना र साविक विजेता फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना तथा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेका हुन् ।
दुवै टोली तेस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो । अर्जेन्टिना ३६ वर्षपछि विश्वकप जित्ने तयारीमा छ । सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपको फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा परािजत भएपछि अर्जेन्टिनाले उपाधि जित्न सकेको थिएन ।
फ्रान्सले भने सन् १९९८ र २०१८ को विश्वकप जितेको थियो । फ्रान्स लगातार दुई पटक विश्वकप जित्ने ब्राजिल र इटालीपछिको पहिलो टोली बन्ने अभियानमा रहेको छ ।
आइतबारको फाइनल खेललाई फ्रेन्च क्लब पिएसजीका दुइ स्टार खेलाडीहरु लियोनल मेस्सी र किलियन एम्बाप्पेको भिडन्तको रुपमा पनि हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्