
काठमाडाैं । नेकपा (एमाले) का सचिव गोकर्ण बिष्टले आफूहरु सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताउनुभएको छ ।
आइतवार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव बिष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताउनुभएको हो । उहाँले आफूहरु जनमतको विपरित सरकार निर्माणको लागि अवाञ्छित र गैर संसदीय गतिविधि नगर्ने बताउनु भयो ।
उहाँले एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा भने पछाडी नहट्ने स्पष्ट पार्नुभयो । सचिव बिष्टले विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै एमालेले जनचाहना बिरुद्धका काम नगर्ने बताउनु भयो ।
सरकार बनाउनका लागि एमालेललाई हतारो नभएको उहाँको भनाइ छ । उहाँले नेकपा (एमाले) लाई कमजोर बनाउनका लागि गत निर्वाचनमा वामपन्थीहरुले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेका बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चामा वैचारिक विचलन देखिएको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्