
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ ।
यो निर्णयले आयल निगमलाई वार्षिक ८० करोड भार थपिने भएको छ । शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो । सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले पुस १ गतेदेखि भाडा वृद्धि कार्यान्वयन गरेको प्रवक्ता उपाध्यायले बताउनुभयो ।
प्रवक्ता उपाध्यायका अनुसार ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ । देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले निगमबाट बढेको भाडा पाउँछन् । स्थानीय १५ किलोमिटरसम्म न्युनतम ३ सय ८२ रुपैयाँ १८ पैसाले भाडा बढ्दा अधिकतम् वीरगन्जदेखि थानकोट र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडा क्रमश ६ हजार ६ सय ३० रुपैयाँ २० पैसा र ६ हजार ६ सय ९० रुपैयाँ ५५ पैसाले बढीको छ ।
उपभोक्तालाई चर्को मूल्य असुलेको निगमले व्यवसायी पोस्नेगरि ढुवानी भाडा वृद्धि गरेको भन्दै आलोचना सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्