२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देउवाले दर्ता गरे संसदीय दलको नेताका लागि मनोनयन


741
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्नु भएको छ ।

सिंहदरवार स्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेर देउवाले मनोनयन दर्ता गर्नु भएको हो । देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल रहनु भएको छ भने समर्थकमा उपसभापति पूर्ण बहादुर खड्का रहनु भएको छ । देउवा इतर समूहबाट भने कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मनोनयन दर्ता गर्नुभएको छ ।

कांग्रेसमा प्रतिनिधि सभामा समानुपातिक र प्रत्यक्ष गरी गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट ८९ सांसद निर्वाचित भएका छन् । उनीहरु नै संसदीय दलको नेता चयनका लागि मतदाता रहनेछन् । संसदीय दलका लागि आज मनोनयन दर्ताको समय तोकिएको हो भने निर्वाचन बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुँदैछ । मनोनयन दर्ताका लागि देउवा र अर्का उम्मेदवार गगन थापा सँगै संसदीय दलको कार्यालय पुग्नु भएको थियो ।