
झापा । झापाको काँकडभिट्टा नाकामा मानव बेचबिखनविरुद्ध सक्रियता बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो प्रयोग गर्न थालेका छन् ।
मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालको १ नम्बर प्रदेश संयोजक गोविन्द घिमिरेले महिला तथा बालबालिकालाई अवैध श्रम र शोषणका लागि भारत लैजाने काममा संलग्न गिरोहले काँकडभिट्टाको साटो भारतको विहार प्रदेशसँग जोडिएका नाका प्रयोग गर्न थालेको बताउनुभयो ।
काँकडभिट्टा मानव बेचबिखनका लागि भारत लैजान प्रयोग हुँदै आएको पुरानो नाका हो । पश्चिम र पूर्वी नेपालका दर्जनौं पहाडी जिल्लाका किशोरी तथा बालबालिकालाई आपराधिक गिरोहले विभिन्न प्रलोभनको बहानामा भारतका शहरमा बेचबिखनका लागि पुर्याउँदै आएको थियो ।
केही वर्षयता काँकडभिट्टा नाकामा सुरक्षाकर्मीको सहयोगमा माइती नेपाललगायत संघ संस्थाले कडा निगरानी गर्न थालेपछि आपराधिक गिरोहले विहारसँग जोडिएका सीमावर्ती नाका प्रयोग गर्न थालेको हो ।
सन् २०२१ मा काँकडभिट्टा नाकापार हुन लागेका चार सय ६८ जनालाई सोधपुछ गर्दा जोखिममा परेका ५४ जनालाई घर फिर्ता पठाइएको थियो ।
गत वर्षको तुलनामा सन् २०२२ को अवधिमा उद्धार भएका पीडितको संख्यासमेत न्यून छ । सन् २०२१ मा २२ जना पीडितको उद्धार भएकामा सन् २०२२ को सोही अवधिमा एक जनाको मात्र उद्धार गरिएको माइती नेपालले जनाएको छ ।
माइती नेपालले पूर्वी नाका काँकडभिट्टामा दुई दशक अघिदेखि मानव तस्करी रोक्ने उद्देश्यले प्रत्यक्ष निगरानी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्