९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कोसीटप्पुमा देखियो ठूलो सिलसिले हाँस


481
Shares

काठमाडौं । कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा दुई दशकपछि पुनः ठूलो सिलसिले हाँस देखा परेको छ ।

सन् २००० मा अन्तिम पटक समूहमा देखिएको हाँस प्रजातिको चरा २२ वर्षपछि फेरि देखिएको हो ।

असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहने बताईएको छ । चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् ।

सुनसरी, सप्तरी र उदयपुरको संगमस्थल कोसीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ ।

देशभरि पाइने आठ सय ८८ चरामध्ये पाँच सय ३१ चरा फेला परिसकेका छन् । यो वर्ष पनि झण्डै ७० प्रजातिका चरा कोसीटप्पु आइसकेको बताईएको छ ।

विगतका वर्षहरुमा यो समयसम्म सयभन्दा बढी प्रजातिका चरा आइसक्ने गरेको चराविज्ञ अनिश तिम्सिनाले बताउनुभयो । चरा आउने समय बाँकी रहे पनि विगत वर्षको तुलनामा कमी आएको उहाँको भनाई छ ।

ठूलो सिलसिले हाँसजस्तै अन्य थुप्रै चरा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउन छाडिसकेका छन् । जलकुम्भी, म्याइकेनियाजस्ता वनस्पतिले हाँस प्रजातिका चरालाई असर गरेको र सिमसार आसपासका क्षेत्रमा विषादीको प्रयोगले जोखिम बढेको उहाँको भनाई छ ।

बगेको पानीभन्दा जमेको पानीमा बस्न रुचाउने हाँस प्रजातिका चराको मुख्य सत्रु माछा मार्न आउने व्यक्ति भएका छन् ।

बर्सेनि झण्डै १ सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मंगोलिया र युरोपबाट नेपालमा आउने गरेको बताईएको छ ।

जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी र मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई पर्दछन् ।