
काठमाडौं । अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको छ ।
अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति निकाली गाडी तोडफोड गरी दूतावासको रकम लुटिएको जानकारी दिएको हो । दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासिएर चेक लुटिएको हो ।
डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन शहरमा सम्पन्न कन्सुलर सेवा शिविर सञ्चालनबाट प्राप्त रकम लुटिएको विज्ञप्तिमा जनाइएको छ । शिविर सम्पन्न गरी ह्यस्टनबाट वासिङटन डीसी फर्किने क्रममा डिसेम्बर २२ रकम लुटपाट भएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘दूतावासका कर्मचारी डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारीसाधन तोडफोड गरी मनी अर्डर र क्यासिएर चेक लुटिएको छ । सुरक्षाकर्मीको सहयोगमा लुटिएको रकम फिर्ता ल्याउने प्रयास भइरहेको छ ।’
विज्ञप्तिमा के कति रकम लुटियो भन्ने खुलाइएको छैन । दूतावासले यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।
प्रतिक्रिया दिनुहोस्