१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै

'दलहरू अन्तिम कसरतमा'

234
Shares

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आइतबार सकिंदै छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउन दलहरुलाई सात दिनको समय दिनुभएको थियो । उक्त समयसिमा आइतबार अपरान्ह ५ बजे सकिंदैछ । तर, दलहरुले सहमति जुटाउन सकेका छैनन् ।

वर्तमान सत्ता गठबन्धनले नै सरकार बनाउने कसरत गरे पनि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको दाबीले सहमति हुन सकेको छैन । यही विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आइतबार बिहान १० बजे बोलाइएको छ ।

आलोपालो प्रधानमन्त्री हुँदा पहिलो प्रधानमन्त्री आफु हुनुपर्ने दुवै नेताको अडान रहेको छ । अन्तिम एक वर्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने उनीहरुको भनाइ छ । तर, दाहाल र देउवा दुवैले पहिलो प्रधानमन्त्री आफु हुनुपर्ने अडान लिएपछि सत्तारुढ गठबन्धन नै विघटन हुने हो कि भन्ने आशंका समेत थपिएको छ ।