१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णाली सरकारले १४ हजार बढी छोरीको बैंक खाता खोल्यो


65
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशका १४ हजार भन्दा बढी छोरीको बैंक खाता खोलेको छ ।

बैंक खाता, छोरीको सुरक्षा जीवनभरको कार्यक्रम मार्फत छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्यले बैंक खाता खोलेको हो ।
२०७६ साउनदेखि जन्मिएका छोरीहरूको बैंक खाता खोलिदिएकामा पछिल्लो समय कतिपय पालिकाहरूले आधिकारिक तथ्याङ्क नपठाउँदा समस्या भएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारलाई पालिकाले बैंक खाता खोलेको आधिकारिक तथ्याङ्क उपलब्ध नगराउँदा गत वर्षदेखि उक्त खातामा जम्मा गर्नुपर्ने रकम अझै नपठाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले बजेट छुट्याएर पालिकाहरूमा रकम नबुझाउँदा सम्बन्धित मन्त्रालय नै अन्योलमा रहेको छ ।

स्थानीय तह र प्रदेश सरकारको समन्वय नहुँदा कार्यक्रम प्रभावकारी नहुने देखिएको छ। सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँग प्रभावकारी रूपले समन्वय नगर्दा कार्यान्वयनमा समस्या भएकाे मुख्यमन्त्रीकाे कार्यालयका सचिव आनन्द सारूलले बताउनुभयाे ।

मन्त्रालयले छुट्टै टोली बनाएर डाटाबेसमा काम गरे कार्यक्रम उपलब्धी मूलक हुने उहाँले बताउनुभयो। गत आर्थिक वर्ष ०७८/०७९ मा १६ करोड विनियोजन गरेको प्रदेश सरकारले चालू आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन गरिए पनि खर्चको विवरण अहिलेसम्म प्राप्त नभएको जनाइएकाे छ ।

छोरीमाथि हुने विभेद, बालविवाह न्यूनिकरण र उच्च शिक्षाको ग्यारेन्टी गर्ने दीर्घकालीन उद्देश्यका साथ कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ ।