
काठमाडौं । ब्राजिलियन फुटबल हस्ती पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
पछिल्लो समय मिर्गौला र प्रोस्टेटको समस्याबाट ग्रस्त पेलेको बिहीबार राति ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा कोलोन क्यान्सरको उपचारकै क्रममा निधन भएको हो ।
पेलेकी छोरी केली नासिमेन्तोले बिहीबार राति आफ्ना पिता पेलेको स्वर्गारोहण भएको विवरण सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।
पेलेको पूरा नाम ‘एड्सन अरान्तो दे नासिमेन्तो’ हो । उनी विश्व फुटबलले पाएका अहिलेसम्मकै सर्वाधिक सफल र चामत्कारिक खेलाडी हुन् । सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकप फुटबल जिताउन महत्वपूर्ण भूमिका निभाएका पेले तिन पटक विश्वकपको उपाधि जित्ने अहिलेसम्मका एकमात्र खेलाडी हुन् ।
उनले आफ्नो फुटबल करियरमा १३ सय ६३ खेल खेल्दै १२ सय ८१ गोल गरेका छन् । जुन अहिलेसम्म कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल हो । देशका लागि ९२ खेलमा पेलेले ७७ गोल गरेका छन् । १७ वर्षको उमेरमा सनसनीपूर्ण प्रदर्शन गर्दै ब्राजिललाई सन् १९५८ को विश्वकप फुटबल जिताएपछि पेले विश्व फुटबलको सुपरस्टार बनेका थिए ।
पेलेको निधनपछि विश्वभरको फुटबल समुदाय स्तब्ध बनेको छ । ब्राजिलियन फुटबल महासंघले पेलेलाई सर्वकालिन महान खेलाडीभन्दा धेरै उच्च व्यक्तित्व भन्दै सम्मान प्रकट गरेको छ । पेलेकै आधिकारिक ट्वीटर ह्याण्डलमा फुटबलका राजा पेलेको प्रेरणा र मायाले भरिएको यात्रामा विश्राम लागेको उल्लेख गरिएको छ ।
पेलेले विश्वलाई नयाँ ब्राजिल दिएको र मुलुकका लागि उनले दिएको योगदान र लिगेसीप्रति सधै आधारी हुने उल्लेख गरिएको छ । उनको सुरुवाती क्लब सान्तोसले पेलेको अन्तिम संस्कारको कार्यक्रम सार्वजनिक गरेको छ ।
पेलेको पार्थिव शरिरलाई आगामी सोमबार अस्पतालबाट सान्तोस फुटबल क्लबको रंगशाला लगिनेछ । त्यहाँ सर्वसाधारणले उनीप्रति अन्तिम श्रदाञ्जली अर्पण गर्नेछन् । साओ पाउलोको सडकमा शवयात्रापछि विशेष चिहानमा उनको अन्तिम संस्कार गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्