
काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरी नयाँ समिति गठन भएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो । गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् । उनीहरुलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न निर्देशन दिइएको जनाइएकाे छ । सिंह प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि कञ्चनपुर पुगेर निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिनुभएको थियो । अन्य सदस्यहरु पनि यसअघि घटनाको अनुसन्धानमा संलग्न अधिकृतहरु हुन् ।
२०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो । कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो । प्रहरीले घटनाको २५ दिनपछि मुख्य आरोपीका रुपमा स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
तर, स्थानीयले उनी मानिसक रोगी भएको दाबीसहित घटनामा संलग्न हुन नसक्ने बताउँदै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु पनि भयो । तत्कालीन अनुसन्धान अधिकृतहरुले निर्मलाको ‘भजाइनल स्वाब’ प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएका थिए । त्यसबाट निकालिएको डीएनएसँग निर्मलाको डीएनए म्याच नभएपछि विष्ट छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस्