२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


धानको उत्पादन बढ्यो


65
Shares

काठमाडौं । देशभर यो वर्ष धान उत्पादन करिब ६ दशमलव ९ प्रतिशतले बढेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८४७ टन बढी धान उत्पादन भएको हो । गत वर्ष कुल ५१ लाख ३० हजार ६२५ टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ हजार ४७२ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

धानको उत्पादकत्व पनि बढेको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफल २ प्रतिशत कमी आएको मन्त्रालयले जनाएको छ । समग्र उत्पादकत्वमा भने ३ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष प्रतिहेक्टर क्षेत्रफलमा ३ दशमलव ४७ टन धान उत्पादन भएकोमा यो वर्ष ३ दशमलव ७९ टन उत्पादन भएको छ ।

मन्त्रालयका अनुसार देशभर कुल १४ लाख ४७ हजार ७८९ हेक्टरमा धान उत्पादन भएको हो । यद्यपी यो वर्षको उत्पादन गत वर्ष २०७८/७९ को तुलनामा बढी रहे पनि अघिल्लो वर्ष २०७७/०७८ को तुलनामा कमी हो । ०७७/७८ मा ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको थियो ।

गत वर्ष असोज ३० गतेदेखि कात्तिक २ गतेसम्मको बेमौसमी वर्षाका कारण १ लाख बढी हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा करिब ८ दशमलव ७४ प्रतिशतले उत्पादनमा कमी आएको थियो । यो वर्ष मौसम औसत रहेको, केही ढिलो भएपनि तराईका जिल्लामा रासायनिक मलको उपलब्धता रहेकाले उत्पादन बढ्नमा सघाउ पुगेको मन्त्रालयको भनाइ छ ।

उन्नत बिउको प्रयोग र स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँच वृद्धि भएका कारण पनि धान उत्पादनमा सामान्य वृद्धि भएको बताइएको छ ।