
अर्घाखाँची । गुल्मीको पुर्कोट दहमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।
जिल्लाको मदाने गाउँपालिका-६ का १८ वर्षीय सन्तोष कुँवरमाथि खुकुरी प्रहार भएको हो । कन्के देउरालीमा वनभोज खान गएका युवाहरुबीच विवाद हुँदा खुकुरी हानाहान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मदाने-६ कै ३३ वर्षीय रमेश परियारले कुँवरलाई आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरीले बताएकाे छ । प्रहरीले परियार र प्युठान झिमरुक गाउँपलिका–४ बाङेसालका १८ वर्षीय प्रशान्त परियारलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
वनभोज खाने क्रममा विवाद हुँदा कुँवरमाथि रमेशले खुकुरीले प्रहार गर्दा कुँवरको दाइने हातमा चोट लागेको छ । कुँवरलाई अर्घाखाँचीको सन्धिखर्कमा रहेको छायाँ मेडिकलमा उपचारको लागि ल्याएकोमा थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्