
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले टोटन ह्याम हट्सपरलाई २–० ले पराजित गरेकाे छ ।
आइतबार राति टोटन ह्यामको मैदानमा भएको खेलमा भ्रमणकारी टोली एस्टन भिल्लालाई विजयी गराउन इमिलियानो बुएन्दिया र डग्लस लुइजले १–१ गोल गरेका हुन् । जितसँगै एस्टन भिल्लाले टोटन ह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेमाथिको दवाव बढाएको छ । टोटन ह्यामले जारी सिजनको प्रिमियर लिगमा सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक कोन्टे दवावमा परेका छन् ।
आइतबार राति भएको अर्को खेलमा चेल्सीलाई नटिङ्घम फरेष्टले १–१ गोलको बराबरीमा रोकेको छ । फरेष्टको मैदानमा भएको खेलमा चेल्सीका राहिम स्टर्लीङले पहिलो गोल गरेका हुन् । ६३ औं मिनेटमा सर्जी औरियरले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।
आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १६ खेलबाट ४३ अंक जोडेको आर्सनल शीर्ष स्थानमा यथावत रहेकाे छ । समान खेलबाट ३६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेकाे छ । साथै एक खेल बढी खेलेको न्युकासल युनाइटेड ३४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्