२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कांग्रेस केन्द्रीय कार्य समितिको बैठक एक हप्तापछि सर्‍यो


104
Shares

काठमाडौं । यहि पुस २२ गतेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पछि सारिएको छ ।

सभापति शेरबहादुर देउवाले निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न यहि पुस २२ गतेदेखि बस्ने गरी केन्द्रीय कार्य समितिको बैठक बोलाउनुभएको थियो । तर प्रतिनिधि सभाको अधिवेशन पुस २५ देखि प्रारम्भ हुने भएपछि सभापति देउवाले पार्टीको बैठकलाई संसदको अधिवेशन भन्दापछि सार्नु भएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले २२ गतेका लागि बोलाइएको केन्द्रीय कार्य समितिको बैठक २८ पुसमा बस्नेगरी स्थगित भएको र २३ पुसमा संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार पुस २३ गते दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बस्नेछ । दलका नेतासमेत रहनुभएका देउवाले संसदीय दलको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनित गरिसक्नुभएको छ । सचेतक भने मनोनयन गर्न बाँकी छ ।

यसैबीच गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठित विभिन्न उपसमितिले प्रतिवेदन बुझाएका छन् । केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित समितिको बुधबार बसेको बैठकमा प्रतिवेदन पेश गरिएको हो । कांग्रेसका मुख्य सचिव पौडेलले बैठकमा गठित उपसमितिका संयोजकहरूले आ–आफ्नो समितिको प्रतिवेदन पेश गरेकाे जानकारी दिनुभयो ।

प्रतिवेदनहरूलाई आगामी बस्ने केन्द्रीय कार्य समितिमा समितिका संयोजक श्रेष्ठले प्रस्तुत गर्ने उहाँले बताउनुभयाे ।