
पाँचथर । लामो समय पछि पाँचथरले सडक आयोजनाको कामलाई तिव्रता दिएको छ ।
पूर्वाधार विकास कार्यालय अन्तर्गत संचालन भइरहेका कालोपत्रे हुने ३ वटा सडक आयोजनाको कामलाई समेत तिव्रता दिएको हो । ४ वटा आयोजनाहरु मध्ये एउटा आयोजनाको काम भने अघि वढ्न सकेको छैन् ।
स्थानीयवासीको माग अनुसार सडकहरु कालोपत्रेको काम तिव्र गतिमा अघि वढिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजन राज रिड्डीले बताउनुभयो । उहाँले ४ वटा योजना मध्ये ३ वटा आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको र अर्को आयोजनाको काम पनि चाँडै अघि बढ्ने बताउनुभयो ।

फिदिम फालोटको १० किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य ८० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत सकिएको छ । कन्काई पिए.एस.जेभी झापाले ६० करोड २७ लाख रुपैयाँको लागतमा गत २०७६ असार ३० गते आयोजनाको जिम्मा लिएको थियो । उक्त आयोजनाको समय अवधि आगामी २०८० असार मसान्तमा सकिँदैछ । तर, कालापत्रे गर्ने कार्य फागुन महिनाको अन्त्य सम्ममा सकिने पूर्वाधार विकास कार्यालयको अनुमान छ ।
यस्तै यासोक सरखण्डे १३.३ किलोमिटर सडक रहेको उक्त आयोजनाको काम पनि कोभिडकै कारण २ वर्ष समय थपिएको थियो । अब यो आयोजनाको काम पनि आगामी २०८० असार मसान्तमा सकिँदैछ । यो सडकको अहिले भौतिक प्रगति ५० प्रतिशत र वित्तिय प्रगति ४६ प्रतिशत सकिएको कार्यालयले जनाएको छ । यो सडकको कालोपत्रे गर्ने जिम्मा लामा च्याङमिला जे.भी. काठमाडौंले ६० करोड ९२ लाख रुपैयाँको लागतमा लिएको हो ।

७ किलोमिटर फिदिम शिवालय नाङलापा छिन्तापु सडकको भौतिक प्रगति ८० प्रतिशत र वित्तिय प्रगति ६९ प्रतिशत सकिएको छ । दिवासफल जे.भी. काठमाडौंले २६ करोड ४५ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्ने कार्य गरिरहेको छ । यो आयोजनाको काम पनि आगामी २०८० असार मसान्त सम्ममा सकिँदैछ ।
यसैगरी, १४ किलोमिटर रहेको सिवादोभान लुम्फाबुङ नवमीडाँडा सडकको कालोपत्रे गर्ने कार्य भने अघि बढ्न सकेको छैन् । २०७६ असार मसान्तमा सम्झौता भएको उक्त सडकको समयअवधि आगामी २०८० असार मसान्त सम्ममा सकिँदैछ । कान्छाराम याक्थुहाङ जे.भी. पाँचथरले २६ करोड ४५ लाख रुपैयाँको लागतमा आयोजनाको जिम्मा लिएको थियो । तर, थपिएको समय अवधिमा पनि कामले गति लिन सकेको छैन् ।
यस्तै, सप्तमी दशमी—मौवा लखुवा दोभान अन्तर्गत मौवादेखि लखुवादोभानसम्मको १४ किलोमिटर सडकको कालोपत्रे गर्न टेन्डर प्रक्रिया पनि अघि बढेको प्रमुख रिड्डीले बताउनुभयो । आगामी माघ महिना भरीमै सम्झौता भई काम अघि बढ्ने भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्