
काठमाडौं । प्रहरीको तथ्यांकअनुसार सडक दुर्घटनामा पछिल्लो ५ वर्षमा १३ हजार ८१ जनाले ज्यान गुमाए । एक लाख बढी मानिस घाइते भए । जसमा ३५ हजारबढी व्यक्ति अंगभंग भएका छन् । देशभर हुने दुर्घटनाबाट हरेक दिन ८ देखि १५ मानिसको मृत्यु हुने गरेको छ । तर यस्तो भयावह अवस्थामा पनि सडक यातायात सुरक्षित बनाउने तर्फ कसैको गम्भीर ध्यान गएको छैन ।
हरेक दिनजसो कही न कतै दुर्घटना भइरहेकै हुन्छ । दुर्घटनाबाट घाइते हुनेको संख्या निकै छ । हरेक दिन घट्ने सवारी दुर्घटनाले व्यक्ति मात्र नभई परिवार तथा आफन्तमा गहिरो असर पर्छ । सवारी दुर्घटनाकै कारण बर्सेनि हजारौं मानिसको ज्यान जोखिममा परे पनि दुर्घटना न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । ट्राफिक प्रहरीका अनुसार देशभर हुने सवारी दुर्घटनामध्ये ८० प्रतिशत दुर्घटना तीब्र गतिकै कारण हुने गरेको छ ।
पछिल्लो समय सवारी दुर्घटना निकै बढ्दो छ । यसमा पनि दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको संख्या उल्लेख्य छ । हुन त सबै दुर्घटना चालकले मादक पदार्थ सेवन गरेरै हुन्छ भन्ने छैन । तर अधिकांश साना सवारी दुर्घटनाको कारण भने तीब्र गति र मादक पदार्थ सेवन नै रहेको प्रहरी ठम्याई छ । दुर्घटनाले मृत्यु हुने वा घाइतेको मात्रै हैन, परिवारकै भविष्यसँग प्रत्यक्ष असर गर्छ । गम्भीर दुर्घटनाको असर उसको जीवनभर रहिरहन्छ । घाइतेको आर्थिक अवस्था अनुसार नै उसले पाउने उपचारको निर्धारण हुन्छ । सवारी दुर्घटनाका कति घाइते त उपचार नपाएरै मृत्युवरण गर्न पुग्छन् ।
प्रहरीअनुसार ८० प्रतिशत दुर्घटना चालकको लापरबाही, १० प्रतिशत सडक अनि वातावरण, १० प्रतिशत दुर्घटना यान्त्रिक गडबढी तथा प्राविधिक कारणले हुने गर्छ । सडकमा ट्राफिक प्रहरी देखिएन भने ठूला सवारीसाधन मात्रै हैन दुईपाङ्ग्रे सवारी र साइकलयात्रीले समेत लेन अनुशासन पालन गर्दैनन ।
यू टर्न, पार्किङ, अनियन्त्रित गति, लाइसेन्स विना सवारी कुदाउने लगायतमा लापरबाही हुने गरेको छ । मादक पदार्थ सेवनलगायत लेनअनुशासन पालना नै हुन्न । आफूले चलाउने सवारी साधन कति क्षमताको छ ? प्राविधिक अवस्था कस्तो छ ? यसबारे जानकार भएको देखिदैन ।
२० जना बोक्ने क्षमता भएको सवारीमा ४० जना राखेर कुदाएपछि दुर्घटना कसैले छेक्दैन । त्यसमाथि सवारी चालक अनुमति पत्र किन बेच हुने संस्कृतिले दुर्घटनालाई प्रश्रय दिएको छ । ट्राफिक प्रहरी भएको स्थानमा मात्रै लेन अनुशासन पछ्याउने संस्कृति झन घातक देखिएको छ । सडकमा प्रहरी नदेखे जे मन लाग्यो त्यही गर्ने गलत प्रवृत्तिले दुर्घटना बढेको बढेकै छ ।
केही समयअघि जन्ती बोकेको जिप दुर्घटना हुँदा जाजरकोटमा १२ जनाले ज्यान गुमाए । यस्तै, काभ्रेको बेथानचोकमा ब्रतबन्धपछि भएको बस दुर्घटनामा एकै घरका ६ सहित १७ जनाले ज्यान गुमाए । सो घटना शव बुझ्ने परिवारका मानिस समेत फेला नपरेको पीडादायी समाचार सार्वजनिक भएको थियो ।
कुन गतिमा सवारी चलाउने, लेन अनुशासन, सवारीको क्षमता हेरेर यात्रु चलाउने देखि लिएर प्राविधिक परीक्षण गर्ने जिम्मा चालककै हो । चालक सचेत भएर सवारी चलाउँदा दुर्घटना घट्न सक्छ । दुर्घटनाका विषयमा विद्यालयदेखि नै पाठ्यक्रममा सवावेश गर्नुपर्ने आवाज उठेको छ ।
सडकमा हिँड्दा होस् या बाटो काट्दा नियम पालन गर्न प्रहरीले सुझाएको छ । सार्वजनिक सवारी सुरक्षित हुनुपर्ने विषयमा नीति नियम बनाउने निकायले तदारुकता देखाउनु पर्छ । अझ जनताको मत लिएर चुनिएका जनप्रतिनिधि, सरकारी सेवामा आसिन जंगी, निजामतीले सार्वजनिक यातायात उपयोग किन नगर्ने ? सार्वजनिक बहसको विषय बन्न आवश्यक छ ।
दैनिकजसो दुर्घटना भएर नागरिकको ज्यान जानु भनेको दुर्घटना नभएर राज्यको तर्फबाट भएको सामूहिक हत्या हो । त्यसैले दुर्घटनाका नाममा सस्तो बन्दै गएको नागरिक मृत्यु रोक्न तत्काल कदम चाल्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्