
काठमाडौं । हरेक वर्ष जाडो मौसम सुरू भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिन प्रतिदिन बढिरहेको छ ।
जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदुषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदुषण बढी हुने गर्छ ।
यसरी चिसो मौसममा बढी प्रदुषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञहरू बताउँछन् । प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन् ।
यो बेलामा मानिसहरु आफैंले बुझेर पनि वातावरणको सरसफाईमा ध्यान दिनुपर्ने हो । आम मानिसहरुलाई यसको पर्वाह छैन, जसकारण पनि अहिले वायु प्रदुषण काठमाडौंसहित देशका विभिन्न शहरमा खतरा बन्दै गएको छ ।
काठमाडौं उपत्यकामा यतिबेला वायु प्रदुषण बढेको छ । नदी, सडक र गल्लीहरुमा सरसफाई हुन सकेको छैन । जसकारण पनि यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परिरहेको छ ।
वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ । अझै पनि सर्वसाधारण नागरिकहरु नै यसमा चनाखो भएर वातावरण सरसफाईमा नलाग्ने हो भने वायु प्रदुषणले झनै खतराको तह पार गर्ने निश्चित छ ।
सबैभन्दा पहिला जथाभावी फोहोर फाल्ने बानी हटाउनु पर्छ । नदीनाला, सार्वजनिक जग्गा, सडकहरुमा फोहोर फाल्ने बानी हटाउनसके मात्रै पनि केही मात्रामा प्रदुषणलाई कम गर्न सकिन्छ । वायु प्रदुषणलाई रोक्न पुराना र थोत्रा सवारीसाधनहरुको प्रयोगमा पनि नियन्त्रण गर्न जरुरी छ ।














– न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्