
काठमाडौं । राष्ट्रिय एकता दिवस एवं ३०१ औं पृथ्वी जयन्तीका अवसरमा देशभर विविध कार्यक्रम गरेर मनाइएको छ ।
सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बुधबार बिहान सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको हो । पृथ्वी नारायण शाहको जन्म बिसं १७७९ पुस २७ गते गोरखाका तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट भएको थियो ।
विसं १७९९ चैत २५ गते राजा बन्नु भएका पृथ्वीनारायण शाहले बाईसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नु भएको थियो । यसैगरी राष्ट्रिय एकता दिवस एवं ३०१ औं पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहित पार्टीका अन्य नेताहरुले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न सफल हुनुभएको थियो ।

पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ । (वि.सं.१७७९–१८३१) शाहवंशीय राजा पृथ्वीनारायण शाहले स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्नुभएको थियो ।
आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । नेपालमा २००७ सालको क्रान्ति पश्चात प्रजातन्त्र आएपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रक्रिया शुरु गर्नुभएको थियो ।
पृथ्वीनारायण शाहले स–साना क्षेत्र (भीरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसाल्नुभएको थियो । पृथ्वीनारायण शाहले शुरू गर्नुभएको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म बिस्तार भएको थियो । पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।







प्रतिक्रिया दिनुहोस्