१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जगदीशपुर तालमा पाहुना चराको आगमन


182
Shares

सुशील गैरे

कपिलवस्तु । कपिलवस्तुको जगदीशपुर तालमा चराहरूको आगमन सुरू भएको छ ।

विश्व सिमसार क्षेत्रमा सुचिकृत यस तालमा चीन, मंगोलिया तथा रुसको साइबेरियाबाट चराहरु आउने गर्दछ्न् । जाडो छल्न तथा आहारा खोज्न चराहरू महादेश नै पार गरेर नेपालसम्म आइपुग्छन् ।

जाडो मौसम सुरू भएसँगै विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तु नगरपालिका–९ र १० स्थित जगदीशपुर तालमा चराहरूको आगमन बढेको छ । यस तालमा चीन, मंगोलिया, रुसको साइबेरिया, मध्य एशियाका तुक्मेनिस्तान र किर्गिस्तान लगायतका क्षेत्रबाट चराहरू आउने गरेका छन् ।

चराहरू तालमा जाडो छल्न तथा बच्चा कोरल्न आउने गरेको चरा विज्ञको भनाइ छ । तराईमा चिसो मौसम सुरू हुनासाथ चरा आउने क्रम बढ्दछ । जगदीशपुर तालमा १ सय ५० भन्दा बढी जातका चराचुरुङ्गी तथा विभिन्न प्रजातिका माछा, कछुवा, भ्यागुता आदि जलप्राणी पाइन्छन् ।

सिमसार वनस्पतिहरूमा बेहाय, पटेर, कमल, जंगली धान, सिंगडा लगायतका वनस्पतिहरू पाइन्छन् । यस्तै, तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् । तालमा विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरू पाइने कुरा नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । ती देशहरूमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेका हुन् । चराहरू ७ देखि १० दिन लगाएर यहाँ आउने गरेको पाइएको छ ।

निकै आकर्षक र मनमोहक देखिने तालमा चराचुरुङ्गीको जल बिहार, चिरबिराहट र जलक्रिडाले मानवीय जीवनलाई रोमाञ्चित बनाउने हुँदा यहाँ प्रशस्त स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । करिब ४ देखि ५ माइल उडेर चराहरू यहाँ आउने र ५/६ महिना बसेपछि वैशाख र जेठ महिना तिर फर्किने गरेको वरिष्ठ चराविद् डा. हिम सागर बरालले बताउनुभयो ।

तालमा पेकिङ्ग डक निलटाउके, मल्टास फिस्टा खट्खटे र विभिन्न जातजातिका पानी हाँस प्रशस्त देखिन्छन् । त्यस्तै तालमा सारस सुन जुरे भुडिफोर, ध्वानी बकुला र सेतो गरुण लगायतका चराहरू पनि आउने गदर्छन् ।

१ सय ५७ हेक्टरमा फैलिएको जगदीशपुर ताल २०४५ साल तिर सिँचाइ प्रयोजनका लागि कृत्रिम रूपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो । एसियाको दोस्रो ठूलो यो ताल पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको भएपनि उचित सरंक्षण र सवंर्द्धनको अभावमा प्रख्यात हुन सकेको छैन ।