१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशमा सभामुख पदका लागि आज निर्वाचन हुँदै


143
Shares

काठमाडौं । बागमती प्रदेशको सभामुख पदका लागि शुक्रबार निर्वाचन हुने भएकाे छ ।

सभामुख पदका लागि शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुने भएकाे हाे । उक्त बैठकमा मत विभाजन हुने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताउनुभएकाे हाे । प्रदेश सभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित समर्थन पाउने उम्मेदवार सभामुखमा निर्वाचित हुने उहाँले बताउनुभयाे ।

सभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । सभामुख पदका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवन कुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेश सभाको सभामुखका सत्ता गठबन्धनका ५ वटा दलको समर्थनमा राप्रपाका पाठक उम्मेदवार बन्नु भएकाे हाे । राप्रपाका पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समेत समर्थन रहेकाे छ।

सत्ता गठबन्धनका ५ वटै दलहरूले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भएर पाठकको पक्षमा मत दिन ह्वीप जारी गरेका छन् । १ सय १० सदस्यीय प्रदेश सभामा राप्रपाका १३ जना सांसद छन् भने पाठकलाई सत्ता गठबन्धनबाट एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन हुने देखिन्छ । प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद रहेका छन् । कांग्रेसका अधिकारीको पक्षमा ३७ जना सांसद हुने देखिएको छ ।

यता नेमकिपाकी सयजुको पक्षमा ३ जना सांसद रहेका छन् ।