
काठमाडाैं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नु भएका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दावी गर्नु भएको छ ।
एमाले परित्याग गरेको केही समयपछि शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बीच सो पार्टी प्रवेश गर्नु भएका उहाँले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हावी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताउनु भएको हो ।
नेता भुसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको समेत दोहोर्याउनु भयो ।
आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उहाँको भनाई थियो । नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डलले दिपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नु परेको स्पष्टिकरण समेत दिनु भयो ।
नेता भुसालले आफू अहिले पनि नेकपाकै सदस्य भएको र यसको वैभवलाई एक ठाउँमा ल्याउने काम नेकपा (एकीकृत समाजवादी)ले मात्रै गर्न सक्ने भएकाले सो पार्टीमा प्रवेश गरेको तर्क समेत गर्नु भयो । उहाँले जनताको बहुदलीय जनवादबारे एकलाईन पनि लेख्न सक्ने क्षमता एमालेका नेताहरुसँग नरहेको जिकीर समेत गर्नु भयो ।
नेता भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँडने बाहेक एमालेका नेताहरुले केही पनि गर्न नसकेको समेत दोहोर्याउनु भयो ।
प्रतिक्रिया दिनुहोस्