१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पोखरा विमान दुर्घटना अपडेट : मृतकमध्ये १३ जनाको सनाखत


351
Shares

काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने १३ जनाको सनाखत भएको छ ।

कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यति एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताउनु भयाे।

दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया, ३८ वर्षीय डा. सुशिल श्रेष्ठ, डा. सोना दिवाकर, अरुण पौडेल कुश्मा र प्रसिद्धि पौडेल छन् ।

त्यस्तै प्रहरीका अनुसार पूर्ण बहादुर गुरुङ, कुमार गुरुङ, कोरियन नागरिक क्युङ्गचुल यु, विजय कुमार गुरुङ र बागलुङ घर भएकी रचना काफ्ले पौडेलको सनाखत भएको छ ।

त्यसैगरी दुर्घटनामा परेर ज्यान गुमाउनेमा पोखरा घर भएका निशान्त आचार्य र काठमाडौँकी संगीता शाही पनि रहेकी छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार चालक दलका सदस्यहरूमा क्याप्टेन कमल केसी, अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए ।

त्यसैगरी गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी रामदत्त जोशीका अनुसार मृतकहरु अधिकांश पोखराका स्थानीय रहेका छन् । उहाँले अहिलेसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताउनु भयाे।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाका अनुसार आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए ।