१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा: विष्णु रिमाल


156
Shares

काठमाडाैं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति पद लिने दाउमा रहेको आरोप लगाउनुभएको छ ।

उहाँले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल आफैैंले कांग्रेससहितका अन्य दलहरुसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताउनुभएको हो । उहाँले सभामुख-उपसभामुख र राष्ट्रपति-उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लविङमा कांग्रेस नेताहरु सक्रिय भइरहेको भन्दै कांग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढीरहेको बताउनुभयो ।

उहाँले संचारकर्मीसँग कुरा गर्दै उपमहासचिव रिमालले सत्तारुढ दलको तर्फबाट सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी दिने र विजयी हुने सुनिश्चित रहेको दावी समेत गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलमा आवद्ध भएकाले अन्य दलसँग पनि सभामुखलाई निर्वाचित गराउन मत माग्नुपर्ने बताउनुभयो । उपमहासचिव रिमालले कांग्रेसले राष्ट्रपति, सभामुख लगायतका पद सहमतिमा हुनुपर्ने कुरा गरेर नयाँ सत्ता समिकरणमाथि भाजो हाल्ने प्रयास गरिरहेको आरोप समेत लगाउनुभयो ।

सभामुखको निर्वाचनमा यहि माघ ५ गते हुँदैछ । उहाँले कांग्रेस राष्ट्रपतिको निर्वाचनमा पनि कर्मचारी तन्त्रलाई र राज्यका अन्य निकायहरुलाई दुविधामा पारिदिने ढंगले अघि बढीरहेको बताउनुभयो । उपमहासचिव रिमालले कांग्रेसले कुनै जालझेलपूर्ण रुपमा प्रधानमन्त्रीलाई समर्थन गरेको भए त्यो सफल नहुने पनि दावी गर्नुभयो । उहाँले आफू बाहेक अन्य दलहरुले संविधान नै बुझ्दैनन् भन्ने किसिमले कांग्रेस लागेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने दाउले अघि बढेको बताउनुभयो ।

उहाँले कांग्रेस राष्ट्रिय सहमतिको नाममा नक्कली कुरा गर्दै राष्ट्रपति आफ्नो पार्टीबाट बनाउनुपर्छ भन्दै हिँडेको बताउनु भयो । उपमहासचिव रिमालले नेकपा एमालेबाट सभामुखका उम्मेदवार बन्नुहुनेका लागि मत माग्न नै प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाउनुभएको बताउनुभयो ।

उहाँले वर्तमान सत्ता समिकरण देशमा स्थिरता दिनुपर्छ, अर्थतन्त्रलाई सुधार गर्नुपर्छ, सामाजिक मूल्य मान्यता र संस्कारलाई क्षयीकरण हुनबाट जोगाउनुपर्छ भन्ने मान्यताको आधारमा बनेको स्पष्ट पार्नुभयो। नयाँ सत्ता समिकरणमा संशय पैदा गर्न र कर्मचारीतन्त्रलाई दुविधामा पार्न कांग्रेस अग्रसर भइरहेको उल्लेख गर्दै त्यस्ता खालको भ्रममा नपर्न समेत उपमहासचिव रिमालले आग्रह गर्नुभयो ।