१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय


169
Shares

काठमाडाैं । सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मालाई जिम्मेवारी दिइएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नवनियुक्त मन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन छ । यसअघि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । त्यस्तै विदेशी प्रतिनिधिलाई मन्त्रीहरूले भेट्दा परराष्ट्रमन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय पनि गरेको छ ।

आजकै बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५४० रूपैयाँ तोक्दै ढुवानी भाडा प्रतिक्विन्टल ७० रूपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ । त्यस्तै बठकले विभूषण वितरण गर्ने सम्बन्धमा मापदण्ड तयार गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । क्रसर उद्योगसँग सम्बन्धित समस्याका बारेमा बैठकमा छलफल भएको र थप अध्ययन गरी उपयुक्त निर्णयमा पुग्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

सरकारको न्यूनतम साझा कार्याक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयसँग सम्बन्धित कार्ययोजना बनाउन सात दिनको समय प्रदान गरिएको पौडेलले बताउनुभयो । त्यस्तै बैठकले ऊर्जा मन्त्रालयका सचिवलाई भौतिक पूर्वाधार मन्त्रालय र भौतिकका सचिवलाई उर्जा मन्त्रालयमा सरुवा गरेको छ ।