२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर जाँदैन, दबाब नदिनुहोला : गृहमन्त्री


390
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार रहनुभएका व्यक्ति संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उहाँले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताउनु भयो । गृहमन्त्री लामिछानेले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दबार प्रभावमा नपार्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धति भन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किदैन । यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ, विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ । गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन । हामीले विधि र पद्धति स्थापित गर्छौं भनेर देखाइरहनु पर्दैन, यो स्वतःसिद्ध छ ।’

गृहमन्त्री लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य लगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताउनुभयो ।

उहाँले सभामुख जस्तो गरिमामय पदलाई बचाउन आवश्यक रहेको बताउनु भयो । उहाँले दलगत कुराभन्दा माथि उठेर आगामी दिनमा सभामुखले आफ्नो भुमिका निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने बताउनु भयो ।