
काठमाडौं । सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै यस्तो बताउनुभएको हो । उहाँले बहुदलिय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने बतउनुभयो । उहाँले सांसदहरुलाई असल संवैधानिक र संसदीय अभ्यास अँगाल्न आग्रह गर्नुभयो ।
उहाँले वगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाति राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा गरिमायुक्त बनाउनु आफ्नो पहिलो दायित्व भएको बताउनुभयो । उहाँले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामुख घिमिरेले प्रतिनिधि सभा सांसदहरुलाई सभामा प्रस्तुत हुँदा रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताको लागि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्