
सिन्धुली । सिन्धुली जिल्ला अस्पतालको नयाँ भवन निर्माणमा अस्पताल विकास समितिको असहयोगका कारण निर्माण कार्यमा ढिलाई भएको छ ।
अस्पतालकाे भवन निर्माण सम्पन्न भइसकेको अवस्थामा पार्किङ र बगैंचा लगायतका कामहरु निर्माण हुन बाँकी भएकाे हाे । जसका कारण सिन्धुली अस्पतालका बिरामीहरुको उपचारमा समस्या भएको छ ।
समितिले पार्किङ र फूलबारी तयार गर्न ठेक्का सम्झौता अनुसार निर्माण गर्नुपर्ने भौतिक संरचनाहरु निर्माणको लागि हालसम्म पनि जग्गा उपलब्ध गराउन नसकेकाले निर्माणमा समस्या भएकाे हाे ।
सिन्धुली अस्पतालको नयाँ भवन निर्माण गर्दा अस्पतालको नियमित सेवा समेत निर्माण क्षेत्र भित्रैबाट सञ्चालन हुँदा समेत समस्याहरु सिर्जना भएको निर्माण कम्पनी हनुमान कन्ट्रक्सनले जनाएको छ ।हालसम्म अस्पतालको भवन निर्माणको काम ८५ प्रतिशत मात्र सम्पन्न भएको छ । कम्पनीले सम्झौता सकिन २ महिना बाँकी हुँदा पनि पाकिङ, बगैंचा र प्रवेश गेट लगायतका संरचना निर्माण गर्न अस्पताल विकास समितिले आफ्नै जग्गामा बनेको पुरानो संरचना हटाएर जग्गा उपलब्ध गराउन सकेको छैन ।
समितिसँग पटक–पटक जग्गा उपलब्ध गराउन आग्रह गरेको भएपनि हालसम्म जग्गा उपलब्ध हुन नसक्दा निर्माणमा ढिलाई भएको सघन शहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापका इन्जिनियर सोनुकुमार गुप्ताले बताउनुभयो । समितिले समयमै जग्गा उपलब्ध गराउन नसके आफूहरुको थप गरिएको म्याद समेत गुज्रने र निर्माण छाडेर हिड्नु पर्ने अवस्था आउने निर्माण कम्पनीले जनाएको छ।
२०७६ चैत्र ७ गते सम्झौता भएर निर्माण कार्य प्रारम्भ गरेको कम्पनीले ३० महिनामा कार्य सम्पन्न गर्नुपर्ने हाे । तर कोभिड–१९ र अन्य विविध कारणले गर्दा समयमा काम सम्पन्न हुन नसकेकाे हाे। अस्पताल निर्माणकाे काम सम्पन्न हुन नसक्ने भएपछि ६ महिना म्याद थप भएको थियो । काम सम्पन्नको लागि थप गरिएको म्याद २०७९ चैत्र ७ गते सकिंदै छ ।
भ्याट बाहेक कुल २१ करोड ९८ लाख ३७ हजार ८ सय १३ मा सम्झौता गरिएको उक्त अस्पताल भवन आधुनिक र सुविधा सम्पन्न अस्पताल भवन हो । सघन सहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापबाट ग्लोबल टेण्डर मार्फत ठेक्का आवह्न गरिएको उक्त अस्पताल भवन निर्माण सम्पन्नसँगै सिन्धुली अस्पताल सुविधा सम्पन्न भवनबाट १०० शैयामा सञ्चालन हुने भएकाे छ ।
अस्पताल विकास समिति सिन्धुलीले आफ्नै जग्गाको स्वामित्व लिन नसक्दा समयमै निर्माण सम्पन्न हुनुपर्ने अस्पतालको नयाँ संरचना संचालनमा ढिलाई भएको छ । निर्माण कम्पनीको सम्झौता अवधि २ महिना मात्र बाँकी रहँदा समेत संरचना निर्माणको लागि जग्गा उपलब्ध गराउन समितिले सकेको छैन ।
सिन्धुली अस्पतालको नाममा १ बिघा १९ कठ्ठा जग्गा भएपनि नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सामुदायिक आँखा अस्पतालले २ कठ्ठा १० धुर र जिल्ला जनस्वास्थ्य कार्यालयले ७ कठ्ठा प्रयोग गरेको छ। अस्पताल विकास समितिले व्यक्तिहरुसँग सम्झौता गरी सडक क्षेत्रतिर २२ वटा व्यवसायिक सटर निर्माण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्