१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीन दिनकी छोरीलाइ जङ्गलमा फाल्ने बाबुविरुद्ध मुद्दा


1.261k
Shares

सुनसरी । तीन दिनकी नवाजात शिशु (छोरी) फाल्ने बाबुबिरुद्ध सुनसरी प्रहरीले मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

नवजात शिशुलाई दुहबी नगरपालिकाकी वडा नम्बर १० का ३३ वर्षीय अमित चौधरी र ३० वर्षीया उनकी श्रीमती बिन्दु चौधरीले बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जङ्गलमा फालेका थिए ।

अमितलाई पक्राउ गरी ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राइले बताउनु भयाे ।

उहाँले सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अमितलाई हिरासतमा राखेर घटनाको अनुसन्धान थालिएको जानकारी दिनुभयाे । अमितसंगै पक्राउ परेकी उनकी श्रीमती बिन्दुलाई भने प्रहरीले रिहा गरिदिएको छ ।

उहाँले नवजात शिशु जङ्गलमा फालेको घटनामा बिन्दुको सम्लग्नता नदेखिएकाले उनलाइ रिहा गरिएको बताउनु भयाे ।

माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जङ्गलमा लगेर फालेका थिए । जङ्गलमा बस्तु चराउन गएका गोठालाले नवजात शिशुलाई देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।

बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरेका थिए ।

शिशु माघ ४ गते बीपी प्रतिष्ठान मै जन्मिएको चिकित्सकले बताएपश्चात प्रहरीले शनिबार अमित र बिन्दुलाइ पक्राउ गरेको थियो । बिन्दुलाइ रिहा गरेसंगै शिशुलाइ आमाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्द श्रेष्ठले बताउनु भयाे ।