१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘पठान’को मध्य प्रदेश, बिहार, यूपी सहित धेरै राज्यहरूमा विरोध


338
Shares

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ बुधबार देशभर ५ हजार २ सय स्क्रिनमा रिलिज भएको छ ।

कतै यो फिल्मले समर्थन पाइरहेको छ त कतै विरोध भइरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार इन्दौर र मध्य प्रदेशमा हिन्दू संगठनहरूको विरोधका कारण फिल्मको पहिलो शो रद्द गरिएको थियो,यसैबीच भोपालमा फिल्मको विरोधमा हल बाहिर विरोध प्रदर्शन भइरहेको छ। बिहार र यूपीका धेरै ठाउँमा पनि फिल्मका पोस्टर च्यातिएको छ । साथै यो फिल्म दुइवटा अनलाइनमा पनि लिक भएको छ ।

कोभिडको समयमा कुनै न कुनै कारणले बन्द भएका २५ सिंगल स्क्रिन हल पनि यो फिल्मका लागि पुनः सुरु भएका छन् । यसप्रति खुशी व्यक्त गर्दै शाहरुखले सामाजिक सञ्जालमा सबै सिंगल स्क्रिनलाई बधाई दिएका छन् ।

इन्दौरमा फिल्मको पहिलो शो अघि नै हिन्दूवादी संगठनहरूले हल बाहिर विरोध प्रदर्शन गरेका थिए। सिनेमा हलहरूमा पहिलो शो रद्द समेत गरिएको थियो । ती संगठनका मानिसले हल भित्र गएर त्याहाँको कर्मचारीहरूलाई जबरजस्ती बाहिर निकालेका थिए । साथै उनीहरूले पठान नचलाउन चेतावनी समेत दिएका छन् । भारतका अन्य ठाउँमा पनि हिन्दूवादी संघ संगठनले फिल्मको विरोध गरेका छन् ।

आगरामा पनि फिल्म रिलिज हुनुअघि हिन्दू संघ संगठनले विरोध प्रदर्शन गरेका थिए । यसपछि प्रहरी घटनास्थल पुगेको थियो । बागपतमा पनि कोलाहल मच्चियो र पोस्टर जलाइयो। हलका मालिकहरूले सुरक्षाको माग गरेका छन्। त्यसपछि हलबाहिर प्रहरी तैनाथ गरिएको छ । फिल्मका ८०५ भन्दा बढी शो मेरठ र कानपुरमा बुक गरिएका छन्। मेरठमा फ्यानहरूले केक काटेर फिल्मको उत्सव मनाएको समाचारमा उल्लेख गरिएको छ ।

फिल्ममा सनातन हिन्दू धर्मको अपमान गरिएको भन्दै भागलपुरमा फिल्मको पोस्टर जलाइएको छ । फिल्ममा भएको ‘बेशरम रंग’ बोलको गीतमा दीपिका पादुकोणले लगाएको बिकिनीको रंगलाई लिएर दर्शकले आपत्ति जनाएका छन् । हिन्दूवादी संघ संगठन लगायत धेरै भारतीय नागरिकले बिकिनीको रङको बारेमा विरोध जनाउँदै प्रर्दशन गरेका हुन् ।

सिद्धार्थ आनन्दद्वारा निर्देशित यो फिल्ममा शाहरुख र दीपिकासँगै जोन अब्राहम पनि मुख्य भूमिकामा छन् ।