१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रेशम चौधरी विरूद्धको मुद्दाको पेशी तोकियो


403
Shares

काठमाडाैं । नागरिक उन्मुक्ती पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीको मुद्दामा आइतबार सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखेर दायर गरेको पुनरावेदनको मुद्दाकाे आइतबार सुनुवाईका लागि पेशी तोकिएको हाे । न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा रेशमसहित १२ जनाको मुद्दा सुनुवाईका लागि पेशी तोकिएको हो । थुनुवा १० नम्बरमा चौधरीको मुद्दा पेशी रहेको छ । यसअघि पेशी तोकिए पनि सर्वोच्चबाटै स्थगित भएको थियो ।

२०७७ फागुन १२ गते जिल्ला अदालत कैलाली र उच्च अदालतको फैसला त्रुटीपूर्ण भएको भन्दै चौधरीका तर्फबाट पूनरावेदन गरिएको थियो । उक्त पुनरावेदनमा हालसम्म एकपटक पनि सुनुवाई हुन सकेको छैन । चौधरीको निवेदन सर्वोच्चमा ८ पटक पेशी तोकिएको छ । तर एक पटक पनि सुनुवाई हुन सकेको छैन । यसअघि ३ पटक सुनुवाईका लागि इजलास समेत तोकिएको थियो । दुई पटक हेर्न नभ्याइने र एक पटक हेर्न नमिल्ने हुँदै मुद्दा स्थगित भएको थियो ।

अन्तिम पटक २०७९ भदौ २६ गते न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको थियो । उनीहरुको इजलासमा हेर्न नमिल्ने भएपछि पेशी सरेको थियो । प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।

उक्त घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।