
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा एकीकृत सेवा कार्यालय खोल्ने तयारी थालेको छ ।
मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्न प्रदेशका सबै जिल्लामा एकीकृत सेवा सञ्चालनको लागि अध्ययन गर्ने निर्णय गरेको छ ।
अध्ययनका लागि प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा अध्ययन कार्यदलसमेत गठन गरेको छ । प्रदेश सरकारका सबै प्रशासनिक कार्यहरु हेटौंडा र काठमाडौं केन्द्रित हुँदा सेवाग्राही मर्कामा परेको गुनासो आएपछि सेवा कार्यालय बिस्तार गर्न लागिएको हो ।
प्रदेश सरकारले जिल्लाहरुमा सञ्चालन गर्ने योजना कार्यान्वयन र सम्पन्न गर्न समेत समस्या भएपछि एकीकृत सेवा सञ्चालनको तयारी गरेको हो ।
कार्यदलका संयोजक निरौलाले विज्ञसहित आवश्यकता अनुसार सदस्य नियुक्त गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्