६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


हिउँदे वर्षा नहुँदा खाद्यान्नको जोहो गर्न सरकारलाई आग्रह


104
Shares

काठमाडाैं । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरुले सरकारले खाद्य सुरक्षामा सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।

जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरुको भनाइ छ । देशका अधिकांश स्थानमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्याहरु उत्पन्न हुनसक्नेप्रति सरकारलाई सचेत गराएका हुन् ।

विज्ञहरुले सरकारले हिउँद याममा हुने खाद्यान्नहरुको समयमा नै जोहो गर्न पनि आग्रह गरेका छन् । हिउँदे अवधिमा औषत वर्षा ६०.१ मिलिमिटर हुनुपर्नेमा अहिलेसम्म ७.९ मिलिमिटर मात्रै वर्षा भएको विज्ञहरुले बताए ।

जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको हिउँदमा खडेरी परेकाले हिउँदको अवधिमा हुने खाद्यान्न उत्पादनमा कमी हुने भन्दै सरकारले समयमै खाद्यान्नहरुको सुरक्षामा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले फागुन १६ गतेसम्मलाई हिउँदको अवधिको रुपमा मान्ने गरिएपनि सो अवधिभित्र पनि वर्षा हुने सम्भावना नरहेको बताउनु भयो । हिउँदे अवधिमा आवश्यक वर्षा नहुँदा आगामी दिनमा जलवायुजन्य विपदको जोखिम समेत बढेर जाने भएकोले सरकारले समयमा नै विपद पूर्व सूचना र विपद पूर्व तयारी गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो ।

उहाँले हिउँदमा वर्षा नहुँदा जीविकोपार्जनमा समस्या पर्नुका साथै बाली, परिस्थितिकीय प्रणाली, वन सम्पदामा समेत असर गर्ने बताउनु भयो । उहाँले हिउँदे वर्षा नहुँदा वायु प्रदुषण बढ्नुका साथै भोकमरीको अवस्था सिर्जना हुनसक्ने खतरा रहेको बताउनु भयो ।

विज्ञ डा. उप्रेतीले सरकारले समयमा नै खाद्यान्न जोहो गर्नुका साथै उहाँले हिउँदे वर्षा नहुँदा पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पत्ति हुने नदीनालामा पानीको मात्रा कम हुने बताउनु भयो । उहाँले समुन्द्र सतहको तापक्रम औषत भन्दा कम हुनु, पश्चिमी वायु नवहनु, प्रशान्त महासागरको केन्द्र र समुन्द्रको पूर्वी दिशामा वायु कमजोर हुनुले पनि नेपालमा वर्षा हुन नसकेको बताउनु भयो । विज्ञ उप्रेतीले समुन्द्रको सतहको तापक्रम ५० वर्ष पछिकै कम रहेको उल्लेख गर्नुभयो ।

विपद् विज्ञ उप्रेतीले फागुन १६ गतेसम्म पनि ठूलो वर्षा हुने कुनै सम्भावना नरहेको बताउनु भयो ।