
काठमाडौं । नेपाल चिकित्सक संघले देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने आन्दोलन स्थगित गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान सरकारी टोली र संघबीच ६ बुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी चिकित्सकहरू काममा फर्किने भएका छन् ।
गत शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा संघले आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो ।
आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो ।
वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्नेलगायतको सहमति भएको छ ।
सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्